FAQs Complain Problems

बर्दघाट नगरपालिकाको परिचय

स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ८० मा भएको व्यवस्था बमोजिम साबिक माकर र पञ्चनगर गा.वि.स लाई एकीकरण गरी नेपाल सरकारको मिति २०७१ साल वैशाख २५ गतेको निर्णयबाट यस बर्दघाट नगरपालिकाको गठन गरिएको थियो ।  राज्यको पुनर्संरचना सँगै साबिकका विभिन्न स्थानीय निकायहरूलाई पुनर्संरचना गरी स्थानीय सरकारको रूपमा रूपान्तरण गर्ने क्रममा छिमेकमा रहेका साबिकका दाउन्नेदेवी र जहदा गा.वि.सका साथै धुरकोट र जमुनिया गा.वि.स का दुई दुई ओटा वडाहरूलाई समावेश गरी नेपाल सरकारबाट मिति २०७३/११/२८ गतेका दिन विधायिका, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्ने लक्ष्यका साथ अधिकार सम्पन्न स्थानीय सरकारको रूपमा यस बर्दघाट नगरपालिकाको पुनर्संरचना गरिएका थियो । यस नगरपालिकाको भौगोलिक अवस्थिति विवरण तल उल्लेख गरिएको छ ।

                       

भौगोलिक अवस्थिति

सिमाना

पूर्वः विनयी त्रिवेणी गाउँपालिका 

पश्चिमः सुनवल नगरपालिका र सरावल गाउँपालिका

उत्तरः विनयी त्रिवेणी गाउँपालिका   

दक्षिणः प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिका

 

राजनैतिक तथा प्रशासनिक विभाजन

प्रदेश                    : लुम्बिनी प्रदेश

जिल्ला                     : नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)

वडा सङ्ख्या                : १६ (स्रोह्र)

अवस्थिति                 : २७.१५ डिग्री उत्तर ८३.८४ डिग्री पूर्वदेखि २७.६६ उत्तर ८३.७६

उचाइ                   : समुद्र सतहबाट ५६१ मिटर

क्षेत्रफल                  : १८०.९६ वर्ग कि.मि.

जनघनत्व                 : ७१६.१५

घरधुरी                   : १२०७८

हावापानी                 : उष्ण तथा समशीतोष्ण

केन्द्रिय राजधानीसम्मको दूरी : १९२ कि.मी.

विमानस्थल भैरहवासम्मको दूरी      : ४२ कि.मी.

बर्दघाट शब्दको व्युत्पत्ति/नामकरण

 

बर्दघाट शब्दको व्युत्पत्तिबारे विभिन्न मतहरू देखिन्छन् । कसैले यस क्षेत्रमा बयरघारी भएकाले बयरघाट भन्दाभन्दै बर्दघाट भएको तर्क राखेको पाइन्छ भने कसैले यस क्षेत्रमा बहरको व्यापार हुने भएकोले बहरघाटबाट बर्दघाट भएको हो भन्ने तर्क पनि पेस गरेको पाइन्छ । कसै कसैले बरको रूख भएकोले ‘बरघाट’ भन्दाभन्दै कालान्तरमा बर्दघाट भनिएको हो भन्ने तर्क पेस गरेको पनि पाइन्छ । वास्तवमा यी माथिका सबै तर्कहरू भाषाविज्ञानका आधारमा त्यति सान्दर्भिक देखिँदैनन् ।

 

यो क्षेत्र विशेषतः थारू आदिवासी जनजातिहरूको मुख्य थलो हो । यहाँ परापूर्वकालदेखि नै थारूहरूको वसोवास रहेको तथ्यलाई स्वीकार गर्नै पर्दछ । थारु भाषामा गोरुलाई बर्दा भनिन्छ । बर्दा अर्थात् गोरुको हाट लाग्ने प्रमुखस्थल रहेकाले यसको नाम बर्दाघाट हुन पुगेको र कालान्तरमा बर्दाको आकार अकारमा परिवर्तन भई बर्दघाट भएको हो भन्ने कुरालाई भाषा वैज्ञानिक दृष्टिले प्रमाणित गर्न सकिन्छ । यसैगरी यसको उत्तरतिर पहाडी क्षेत्र रहेको र यस क्षेत्रमा  आदिवासी मगरजातिको बसोबास रहेको  प्रमाण पाइन्छ । मगर भाषामा गोरुलाई बार्दा (बार्डा उच्चारणमा) भनिन्छ । उनीहरूले यहाँ गोरुको हाट लाग्ने भएकोले यस क्षेत्रलाई बार्डा हाट भन्न थाले । हाट शब्द घाटमा बदलियो र बार्डाघाट भयो । यही बार्डाघाट कालान्तरमा बर्दघाट शब्दमा रूपान्तरण भएको हो भन्न पनि सकिन्छ । यसरी बर्दघाट शब्दको व्युत्पत्ति थारू भाषाको बर्दा हाट र मगर भाषाको बार्डा हाटबाट भएको बलियो प्रमाण पाइन्छ ।